काठमाडौं। वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूमा कुल कर्जा खाताको संख्या बढ्दै गर्दा विकास बैंकहरूमा भने कर्जा खाता घटेको देखिएको छ । पछिल्लो समय धेरै विकास बैंकहरू वाणिज्य बैंकमा गाभिएका तथा विकास बैंकमा रहेका राम्रा अर्थात् असल ऋणीहरूलाई वाणिज्य बैंकहरूले तान्ने प्रवृत्ति बढ्दै जाँदा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूको तुलनामा विकास बैंकहरूमा कर्जा खाता घटेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले कुल दुई लाख ६३ हजार आठ सय ७१ वटा कर्जा खातामार्फत कुल पाँच खर्ब ४७ अर्ब ५० करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल दुई लाख ७२ हजार चार सय ३८ वटा खातामार्फत कुल पाँच खर्ब २१ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो अवधिमा विकास बैंकहरूको कुल कर्जा खाता संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ हजार पाँच सय ६७ वटाले घटेको देखिए पनि कुल कर्जाको परिमाण बढ्दा विकास बैंकहरूमा कुल कर्जा रकम २६ अर्ब चार करोड ३० लाख रुपैयाँले बढेको देखिएको हो ।

विकास बैंकहरूमा कर्जा खाता संख्या घट्दै गर्दा वाणिज्य बैंकहरूमा भने कुल कर्जा खाता संख्या एवं कुल कर्जा रकम दुवै बढेको देखिएको छ । सोअनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा वाणिज्य बैंकहरूले कुल १७ लाख तीन सय ३७ वटा कर्जा खातामार्फत ५२ खर्ब ४० अर्ब ४९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल १६ लाख ३२ हजार नौ सय १४ वटा कर्जा खातामार्फत कुल ४९ खर्ब दुई अर्ब ६२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

ADVERTISEMENT

यसको अर्थ चालु आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरूमा कुल कर्जा खाताको संख्या ६७ हजार चार सय २३ वटाले बढ्दा कुल कर्जा रकम तीन खर्ब ३७ अर्ब ८६ करोड ९० लाख रुपैयाँले बढेको देखिएको छ ।

फाइनान्स कम्पनीहरूले पनि चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा ७३ हजार दुई सय २७ वटा कर्जा खातामार्फत कुल एक खर्ब सात अर्ब नौ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल ४७ हजार छ सय ५६ वटा खातामार्फत कुल एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

सोअनुसार चालु आर्थिक वर्षको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूमा कुल कर्जा खाताको संख्या २५ हजार पाँच सय ७१ वटाले बढ्दा कुल कर्जा रकम चार अर्ब ४२ करोड २० लाख रुपैयाँले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूले कुल २० लाख ३७ हजार चार सय ३५ वटा कर्जा खातामार्फत कुल ५८ खर्ब ९५ अर्ब आठ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने कुल १९ लाख ५३ हजार आठ वटा कर्जा खातामार्फत कुल ५५ खर्ब ३५ अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।

सोअनुसार पछिल्लो अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा खाताको संख्या ८४ हजार चार सय २७ वटाले बढ्दा कुल कर्जा रकम तीन खर्ब ५९ अर्ब ९० करोड ९० लाख रुपैयाँले बढेको देखिएको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरूको कर्जा रकम र खाता (रकम १० लाखमा, खाता संख्यामा)