पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेनजी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले धर्ना दिएको छ ।
आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो। धर्नामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन्। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै न्याय र मुद्दा फिर्ताको पक्षमा आवाज उठाएका थिए।
रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला भएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने धर्ना कार्यक्रमले अधिवेशनको गतिविधिमा कुनै अवरोध पुर्याएको थिएन।
दबाब समूहले सम्बन्धित पक्षबाट आफ्ना मागहरूको सुनुवाइ नभए थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ।









