काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत सदस्यता वितरणको म्याद थप गरेको छ। पार्टीले यसअघि जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा तोकेको भए पनि अर्को सूचना जारी नभएसम्मका लागि म्याद बढाइएको जनाएको छ।
पार्टीद्वारा जारी विज्ञप्तिअनुसार कुल सात लाख ८२ हजार २०९ योग्य क्रियाशील सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन्।
त्यस्तै, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत प्रणालीमा अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।
पार्टीले क्रियाशील सदस्यताको डिजिटल व्यवस्थापनलाई प्रभावकारी बनाउन अभियानलाई निरन्तरता दिँदै बाँकी सदस्यलाई पनि समयमै अद्यावधिक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।








