काठमाडौं । यशोधा फुड्स प्रा.लिले ‘करेन्ट हट एण्ड स्पाईसी’ चाउचाउको एक निश्चित ब्याचबाहेक अन्य सबै उत्पादन उपभोगका लागि सुरक्षित रहेको जनाएको छ।
कम्पनीले बिहीबार जारी गरेको सूचनामार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३ (०४A) को १०० ग्राम प्याकेटबाहेक अन्य सबै ब्याचका उत्पादन गुणस्तरीय र खान योग्य रहेको स्पष्ट पारेको हो।
कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४A भएको ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादनमात्र सम्बन्धित परीक्षणको विषय बनेको छ। सो बाहेक अन्य मितिमा उत्पादित ०४A वा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू सुरक्षित रूपमा उपभोग गर्न सकिने जनाएको छ।
‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेखित ब्याचबाहेक अन्य सबै उत्पादन निर्वाध रूपमा उपभोग गर्न सकिन्छ,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
यशोधा फुड्सले उपभोक्ता, खुद्रा व्यापारी तथा आधिकारिक बिक्रेताहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै सम्बन्धित ब्याचबाहेकका उत्पादनहरू ढुक्क भएर बिक्री–वितरण तथा उपभोग गर्न अनुरोध गरेको छ।
कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र खाद्य सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाउँदै उपभोक्ताको विश्वास कायम राख्न आवश्यक सबै प्रक्रिया पालना गर्दै आएको समेत जनाएको छ।









