काठमाडौं । ललितपुरस्थित ग्रीनवीच होटलका सञ्चालकले सामाजिक सञ्जालमार्फत समिट होटलबाट निर्माणका क्रममा भएको क्षतिपूर्ति नपाएको दाबी गरेपछि समिट होटलले त्यसप्रति खेद प्रकट गर्दै उक्त आरोपलाई तथ्यहीन भएको जनाएको छ।
समिट होटलले विज्ञप्ति जारी गर्दै ग्रीनवीच होटलका सञ्चालकलाई क्षतिपूर्तिस्वरूप ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरिसकिएको र त्यसको प्रमाणस्वरूप रकम बुझेको हस्ताक्षरसहितको रसिदसमेत सार्वजनिक गरेको जनाएको छ।
होटलका अनुसार सम्बन्धित पक्षले उक्त रकम प्राप्त गरिसकेको अवस्थामा पनि क्षतिपूर्ति नपाएको भन्दै सामाजिक सञ्जालमा भिडियो तथा सामग्री सार्वजनिक गर्नु शंकास्पद देखिएको छ।
समिट होटलले यस विषयमा सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकेको उल्लेख गर्दै केही समयअघि ललितपुर महानगरपालिकाले पनि ग्रीनवीच होटलका सञ्चालकसँग प्राप्त ९ करोड ६६ लाख रुपैयाँ कुन प्रयोजनमा खर्च गरिएको हो भन्नेबारे जानकारी मागेको जनाएको छ।
समिट होटलका अनुसार ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित होटल तथा अपार्टमेन्ट निर्माणको प्रारम्भिक चरणमा २०७९ चैत २५ गते आसपासका सात घर तथा संधियारलाई पुगेको क्षतिको सम्बोधन गर्दै आपसी सहमतिमा उचित क्षतिपूर्ति वितरण गरिएको थियो।
तर, क्षतिपूर्ति रकम बुझिसकेपछि पनि आफूले कुनै रकम नपाएको दाबी गर्दै आम जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले तथ्यहीन सूचना प्रवाह गरिएको समिट होटलको आरोप छ।
“सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक सामग्री सार्वजनिक गरी सर्वसाधारणमा भ्रम फैलाउने प्रयास भएको छ। सार्वजनिक गरिएका त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट रूपमा खण्डन गर्दछौँ,” समिट होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समिट होटलले तथ्यमा आधारित सूचना प्रवाह गर्न र गलत प्रचारप्रसारबाट भ्रमित नहुन पनि सरोकारवालालाई आग्रह गरेको छ।









