हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाग्मती प्रदेश अधिवेशनअन्तर्गत स्थगित भएको निर्वाचन प्रक्रिया यही जेठ ३० गते पुनः सञ्चालन हुने भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै सम्पूर्ण तयारी पूरा भएपछि निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको जनाएको हो।

आयोगका अनुसार जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य, मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

ADVERTISEMENT

निर्वाचन आयोगले प्रतिनिधिहरूलाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले मतदानको नयाँ मिति तय गरिएको जनाएको छ। आयोगले निर्वाचनलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक सबै तयारी पूरा भएको दाबी गरेको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित सूचनाअनुसार मतदान जेठ ३० गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा हुनेछ। यसअघि वाग्मती प्रदेश अधिवेशन हेटौँडामा सञ्चालन भइरहेको भए पनि निर्वाचन प्रक्रिया काठमाडौं सारिएको हो।

ADVERTISEMENT

मतदान पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत सञ्चालन गरिने आयोगले जनाएको छ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्र वा फोटोसहितको परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र मतदानस्थलमा शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ।

यसअघि मतदाता नामावलीसम्बन्धी विवादका कारण वाग्मती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको थियो।