काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ल्याएको बजेटलाई फुकेको बेलुनको संज्ञा दिएका छन् । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई उनले कार्यान्वयन हुन नसक्ने ठोकुवा गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरे । उनले अहिलेको बजेटबाट कति प्रतिशत नेपाली खुसी छन् ? भनेर प्रश्नसमेत गरे ।
बजेटको आकार र यसको विश्वस्ततामाथि प्रश्न उठाउँदै सांसद सिंहले भने, ‘साउथ एसियामा कुनै देश छैन जहाँ जीडीपीको ३२–३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्यन हुन्छ भन्ने मलाई विश्वास छैन ।’
बजेटले देशका वास्तविक समस्या र गरिब जनतालाई सम्बोधन गर्न नसकेको उनले टिप्पणी गरे । बजेटमा आमनागरिक र युवा वर्ग उपेक्षामा परेको, तर सीमित कर्मचारी वर्गलाई मात्रै फाइदा पुर्याइएको दाबी गर्दै उनले प्रश्न गरे, ‘बजेटमा युवालाई कति रोजगारी दिने कुरा आयो ? गरिबले के पायो ? कर्मचारीको तलब बढ्यो । कर्मचारी कति छ ? गरिब कति छ ?’
बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करप्रति पनि सिंहले असन्तुष्टि व्यक्त गरे। संविधानले ग्यारेन्टी गरेका नागरिकका मौलिक अधिकारमाथि नै सरकारले आर्थिक भार थपेको उल्लेख गर्दै उनले भने, ‘संविधानअनुसार शिक्षा र स्वास्थ्य मौलिक अधिकार हो । यसमा कर लगाउन मिल्दैन। कर लगाइएको छ ।’
बजेट भाषण गरेपछि देशमा तुरुन्तै ठुलो परिवर्तन भइहाल्छ भन्ने मन्त्रीहरूको सोच सधैँ उस्तै रहने गरेको र अहिले पनि त्यही रहेको भन्दै उनले भने, ‘हरेक अर्थमन्त्रीलाई लाग्छ बजेट बनेको भोलिपल्ट देश कायापलट हुन्छ । स्वीजरल्याण्ड बन्छ भन्ने लाग्छ । यो पहिलेदेखिको कुरा हो ।’ आफूले बोल्दाबोल्दै माइक काटिएपछि उनले आक्रोश व्यक्त गरे । जवाफमा सभामुख डोलप्रसाद अर्यालले ‘अटोमा राखिएको र आफूले नकाटेको’ भने ।








