काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा कर छलीसम्बन्धी विषयमा झुट बोलेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले भन्सार तथा कर छली प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको जिकिर गरे।
“भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,” शाहीले सदनमा भने।
उनले करका दर हेरफेर, भन्सार प्रशासन र राजस्व संकलनसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठेकाले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्याए।
राप्रपाले पछिल्ला केही समयदेखि कर तथा भन्सार नीतिमा भएको भनिएको अनियमितताबारे संसद्भित्र आवाज उठाउँदै आएको छ। शाहीले यस्ता विषयमा सरकार जवाफदेही बन्नुपर्ने र संसद्ले प्रभावकारी निगरानी गर्नुपर्ने धारणा व्यक्त गरे।








