काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ भने अहिले प्राप्तांक इन्ट्री तथा म्याचिङको काम अन्तिम चरणमा पुगेको छ।

बोर्डले नतिजा सकेसम्म छिटो प्रकाशन गर्ने लक्ष्यसहित बिदाका दिनमा समेत बिहान र बेलुका अतिरिक्त समय काम गरिरहेको जनाएको छ। प्राप्तांक इन्ट्री, तथ्यांक प्रमाणीकरण तथा म्याचिङ प्रक्रिया सम्पन्न भएपछि नतिजा प्रकाशनको अन्तिम तयारी गरिनेछ।

ADVERTISEMENT

यस वर्ष देशभरका ४८ वटा केन्द्रमार्फत उत्तरपुस्तिका परीक्षण गरिएको थियो। सबै प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको र कुनै अवरोध नआएमा असार १० गतेभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

ADVERTISEMENT

कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका लाखौं विद्यार्थी तथा अभिभावकलाई बोर्डले धैर्य गर्न आग्रह गर्दै नतिजा प्रकाशनसँगै आधिकारिक माध्यममार्फत जानकारी उपलब्ध गराइने जनाएको छ।