विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा उम्मेदवारी शुल्कको विषयलाई लिएर विवाद र असन्तुष्टि देखिएको छ। पार्टीले प्रदेश अधिवेशन निर्वाचन कार्यविधि–२०८३ अनुसार विभिन्न पदका उम्मेदवारका लागि उच्च शुल्क निर्धारण गरेपछि प्रतिनिधिहरूले गुनासो गरेका हुन्।
रास्वपाले प्रदेश सभापति पदमा उम्मेदवारी दिन २१ हजार रुपैयाँ शुल्क तोकेको छ। त्यस्तै प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि १७ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
प्रदेश सदस्य पदका लागि भने १० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। मोरङको बिराटचोकमा जारी कोशी प्रदेशको पहिलो अधिवेशनमा सदस्य पदका केही आकांक्षीले शुल्क महँगो भएको भन्दै उम्मेदवारी नै दर्ता नगरेका छन्।
अधिवेशनस्थलमा रहेका एक प्रतिनिधिले पार्टीले निर्धारण गरेको शुल्कले आर्थिक रूपमा कमजोर व्यक्तिलाई उम्मेदवार बन्न निरुत्साहित गरेको टिप्पणी गरे। ‘पार्टीले गरिबलाई उम्मेदवार नै नबनोस् भन्ने हिसाबले शुल्क तोकेजस्तो देखियो,’ उनले भने।
उनका अनुसार प्रतिनिधि बन्नकै लागि पनि १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपरेको थियो। अधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक दुवैका लागि समान १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश सभापति पदका लागि कार्यवाहक सभापति सरिन तामाङसहित चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, सांसद पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाको विधानअनुसार कोशी प्रदेश समिति ६१ सदस्यीय रहने व्यवस्था छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ।








