काठमाडौं । हर्मुज जलमार्ग नजिक अमेरिकी सेनाको एएच–६४ अपाचे हेलिकोप्टर सोमबार दुर्घटनाग्रस्त भएको छ। घटनामा हेलिकोप्टरमा सवार दुई चालक दलका सदस्यको सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। हेलिकोप्टर इरानी आक्रमणका कारण खसेको हो वा प्राविधिक समस्याका कारण दुर्घटनामा परेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
घटना इजरायल र इरानबीच पछिल्ला दिनहरूमा भएको सैन्य तनाव र आक्रमण–प्रत्याक्रमणपछि क्षेत्रीय अवस्था केही शान्त बन्दै गएको समयमा भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै हेलिकोप्टरका चालक दलका सदस्यहरू सुरक्षित रहेको जानकारी दिएका छन्। उनले घटनाबारे विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गरिने बताएका छन्।
अमेरिकी सेनाले पछिल्लो समय हर्मुज जलमार्ग क्षेत्रमा एमक्यू–९ रिपर ड्रोन, एफ/ए–१८ र एफ–३५ लडाकु विमानसँगै अपाचे हेलिकोप्टर प्रयोग गर्दै आएको छ। इरानले जलमार्ग क्षेत्रमा व्यावसायिक जहाज आवागमनमा प्रभाव पार्ने गतिविधि बढाएपछि अमेरिकी सेनाले आफ्नो उपस्थिति सुदृढ बनाएको थियो।
हेलफायर मिसाइलले सुसज्जित एएच–६४ अपाचे हेलिकोप्टरलाई विश्वकै शक्तिशाली आक्रमणकारी हेलिकोप्टरमध्ये एक मानिन्छ। यसले साना डुंगा आक्रमण रोक्न तथा ड्रोन खसाल्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।








