काठमाडौँ। पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्।

गुरुङ आज प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिँदै सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। त्यसअघि उनले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भुजेल गुरुङकै गोरखा क्षेत्र नं १ की बासिन्दा रहेको बताइएको छ।

ADVERTISEMENT

तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापा मगरले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ। आरोपी थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार विवादका क्रममा थापाले फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो।

घटनाबारे बालाजु प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका थापा आफूलाई ‘प्रो रेस्लर’ भनेर चिनाउने गरेको पनि खुलेको छ।

यसैबीच पूर्वगृहमन्त्री गुरुङले घटनामा संलग्नलाई निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।