काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो मनोनयन सूची (म्याचिङ लिस्ट) सार्वजनिक गरेको छ।

महानगरले अन्तिम योग्यता सूची, विद्यार्थीले छनोट गरेका विषय तथा शिक्षण संस्थाको प्राथमिकताका आधारमा ३ हजार ७३५ जना विद्यार्थीलाई भर्नाका लागि सिफारिस गरेको हो। परीक्षा समितिको जेठ २२ गतेको निर्णयअनुसार सूची प्रकाशन गरिएको जनाएको छ।

ADVERTISEMENT

मनोनयनमा परेका विद्यार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टलबाट मनोनयन पत्र डाउनलोड तथा प्रिन्ट गरी जेठ २७ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्नेछ। तोकिएको समयभित्र भर्ना नभए छात्रवृत्तिको दाबी स्वतः रद्द हुने परीक्षा समितिले जनाएको छ। साथै, मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

प्रकाशित सूचीअनुसार शिक्षाशास्त्रमा ६, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा १ हजार ४०१ र विज्ञानमा २ हजार २६६ जना गरी कुल ३ हजार ७३५ विद्यार्थी सिफारिस भएका छन्।

कोटाअन्तर्गत सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण १ हजार ५४५, संस्थागत विद्यालयबाट ४८१, महानगरका स्थायी बासिन्दा ४९२, छात्रा कोटाबाट ४४० तथा विभिन्न समावेशी समूहबाट विद्यार्थीहरू छनोट भएका छन्।

महानगरभित्रका १४५ शिक्षण संस्थाका लागि यस वर्ष ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ। जसमध्ये विज्ञानतर्फ २ हजार ३७१, व्यवस्थापनतर्फ १ हजार ५४९, कानुनतर्फ ७५, मानविकीतर्फ ४९ र शिक्षातर्फ ७ कोटा रहेका छन्।

जेठ १७ गते लिइएको छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा जेठ १८ गते र अन्तिम नतिजा जेठ २१ गते प्रकाशित गरिएको थियो। पुनर्योग तथा विवरण सच्याउन दिएको अवधिमा ३३१ वटा पुनर्योग आवेदन र ९६ वटा विवरण सच्याउने निवेदन परेको थियो।

पहिलो चरणमा सिफारिस भएका विद्यार्थीहरू भर्ना नभई रिक्त रहने सिटमा बाँकी विद्यार्थीहरूको योग्यता र प्राथमिकताका आधारमा जेठ २८ गतेपछि दोस्रो मनोनयन सूची सार्वजनिक गरिने परीक्षा समितिले जनाएको छ।