काठमाडौं । प्रधानमन्त्रीलाई म्यासेज लेखेकै आधारमा सरकारका सचिव पक्राउ गरेको विषयले देशमा अहिले तरंग सिर्जना भएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई म्यासेज लेखेकै आधारमा बिहीबार राति सात घन्टा प्रहरी हिरासतमा परे ।
मुख्यसचिवको दौडमा रहेका पुष्करलाई प्रहरीले केरकार गरेर श्रीमती आभा श्रेष्ठको रोहबरमा आइन्दा प्रधानमन्त्रीलाई म्यासेज नलेख्ने सर्तमा छोडियो । आभा श्रेष्ठ पनि सरकारकै सहसचिव हुन् । प्रधानमन्त्री कार्यालयले सचिव पुष्करले आफूले राजदूत पदमा आवेदन हाल्न लागेको र प्रधानमन्त्रीबाट सहयोग माग गरेको उल्लेख गरेको जनाएका छन् ।
जबकि प्रधानमन्त्री बालेन र सचिव पुष्कर दुवै महोत्तरी जिल्लाकै हुन् । बालेन काठमाडौंको मेयर हुँदा पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । त्यसबेला दुवैबीच उठबस हुने गर्दथ्यो । पुष्कर बालेनको घरमा आउजाउ हुने गथ्र्यो । तर अहिले प्रधानमन्त्री बालेनले मुलुकमा सुशासन कायम गर्न भन्दै आफूलाई म्यासेज गर्ने कामलाई पनि दण्डनीय मानेका छन् । र, त्यही भएर चिनजानकै भए पनि सचिव पुष्करलाई प्रहरी हिरासतमा पठाइदिए ।
केही दिनअघि मिसकल गरेकै आधारमा पाटन कृष्णमन्दिरमा दुई दाजुभाइको हत्या भयो । पाटनका सञ्जीव नेपालीले आफूलाई मिसकल गरेको भन्दै चक्कु प्रहार गरेर ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या गरेका हुन् ।
मिसकल गरेकै आधारमा दुईजनाको हत्या घटना र अहिले प्रधानमन्त्रीलाई म्यासेज गरेकै आधारमा सरकारकै सचिव पक्राउ परेको घटनालाई जोडेर विभिन्न टीकाटिप्पणी हुन थालेको छ । एकथरीले बालेनले सुशासन कायम गर्न लागेको भन्दै यसलाई समर्थन गरेका छन् । अर्काथरीले रामराज्य सुरु भएको भन्दै आलोचना गर्न थालेका छन् ।








