काठमाडौं । झन्डै दुई तिहाइ बहुमतको सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ल्याएको महत्वाकांंक्षी बजेटलाई सेयर बजारले रातो झन्डा देखाएको छ ।

अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारसम्बन्धी केही व्यवस्था घोषणा गरे पनि आर्थिक विधेयकमार्फत पुँजीगत लाभकर वृद्धि गरेका कारण लगानीकर्ताहरुको मनोबल घटेको छ। फलस्वरुप सोमबारको बजार घट्न पुगेको छ।

ADVERTISEMENT

लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको पुँजीगत लाभकर नै अन्तिम हो भन्ने घोषणा अर्थमन्त्रीले गर्दैगर्दा विधेयकमार्फत पुँजीगत लाभकर २.५ प्रतिशत विन्दुले बढाएका कारण लगानीकर्ताहरू निराश भएका हुन्।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि बजार खुलेको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। बजेटअघिको अन्तिम कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से आज उच्च अंक्ले घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ ।

निर्जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशत घटेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४९ स्टकको ६३ हजार ७१९ पटकको कारोबारमा पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँबराबरको एक करोड ३३ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड चार लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।

नेप्से घटे पनि कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बुंगल हाइड्रोको सेयरमूल्य सर्वाधिक १३.२० प्रतिशत घटेको छ।