पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । बिहीबार महानगरले सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट, ट्रेड युनियन कांग्रेसलगायत विभिन्न संघसंस्थाका भवन भत्काएको हो ।

महानगरपालिकाले पृथ्वीचोकको मूल सडक हुँदै हङकङ बजारबाट नयाँबजार निस्कने सडकछेउमा निर्माण गरिएका अवैध संरचना हटाउन थालेपछि त्यहाँका व्यवसायीहरूले धमाधम सटर खाली गरेका थिए ।

ADVERTISEMENT

पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमै अधिग्रहण गरिएको सरकारी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी संरचना निर्माण गरेकाले हटाउन थालिएको महानगरले जनाएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका अर्बौं मूल्य बराबरका सरकारी तथा सार्वजनिक जग्गामा राजनीतिक दल, भातृ संगठन, व्यापारिक समूह र सुकुम्बासीले अतिक्रमण गरेको बताइएको छ ।

ADVERTISEMENT

नगर विकास समितिले यसअघि ३५ दिने सूचना जारी गर्दै अनुमति विना निर्माण गरिएका संरचना स्वयं हटाउन आग्रह गरेको थियो । सूचना अवधिभित्र खाली गरिएका संरचनाहरू महानगरले डोजर लगाएर भत्काउन थालेको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।

महानगरपालिकाले पोखराका विभिन्न वडामा सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना क्रमशः हटाउँदै जाने जनाएको छ ।