काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

उनलाई बोनम्यारो क्यान्सर देखिएपछि एक महिनादेखि अस्पतालमा उपचार भइरहेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर देखिएपछि एक महिनाअघिदेखि उपचार गराइरहेको जानकारी दिए ।

ADVERTISEMENT

पछिल्लो समय न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको छ । श्रेष्ठको उपचारका लागि सहयोग आह्वान गरिएको छ ।

ADVERTISEMENT

न्यायाधीश श्रेष्ठले आफ्ना लागि आर्थिक संकलन नगर्न अनुरोध गरेका छन्। बुधबार न्यायाधीश श्रेष्ठले विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्।

‘बोनम्यारो समस्याका कारण म अहिले भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेको छु,’ उनले भनेका छन्।

ADVERTISEMENT

आफ्नो स्वास्थ्य उपचारप्रति चासो राख्ने सबैप्रति अनुगृहित रहेको उल्लेख गरेका छन्। न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘मेरो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति म अनुगृहित छु।’

आफ्नो उपचारका लागि न्याय क्षेत्रसँग सम्बन्धित संघसंस्थाले आर्थिक सहयोग संकलन गरिरहेको जानकारी पाएको बताउँदै उनले सो कार्य स्थगित गर्न आग्रह गरेका छन्।

‘मेरा शुभेच्छुक एवं शुभचिन्तकहरूले मेरो उपचारका सन्दर्भमा स्वस्फूर्त रुपमा सहयोग जुटाउने हेतुले रकम संकलन गर्न थाल्नु भएको खबर पनि पाएको छु। न्यायसेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ,’ श्रेष्ठले भनेका छन्, ‘यो आर्थिक संकलनको कार्य स्थगित गरिदिनु हुन सबैमा मेरो विनम्र अनुरोध छ। आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम संकलनको कार्य स्थगित गर्नुहुनेछ।’