काठमाडौं । अध्यागमन विभागले पछिल्लो पाँच महिनामा १५२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । विभागले जनवरी १ देखि मे ११ सम्ममा १५२ जना विदेशीलाई देश निकाला गरेको जनाएको हो ।

निष्काशित १५२ जनामध्ये १०५ जना भिसा अवधि सकिएर पनि नेपालमा बसेका थिए । बाँकी ४७ जना लागुऔषध कारोबारी, भिसाको उद्देश्यविपरित कार्य गरेको, नक्कली राहदानी र भिसालगायतको विषयमा निष्काशित गरिएको विभागले जनाएको छ । त्यसअघि अध्यागमनले २०२५ मा ५२६ जनालाई निष्कासित गरेको थियो । त्यसमध्ये ४५९ जना ओभरस्टे गरेका थिए ।

ADVERTISEMENT

अध्यागमन विभागद्वारा हालै कार्यान्वयनमा ल्याइएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायहरूसँगको एक दिवसीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ। अध्यागमन नियमन र आवागमन सहजीकरणबीच उचित सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षा सुदृढ गर्ने तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो। यही कार्यक्रममा विभागले विदेशी नागरिकलाई देश निकाला गरेको बारे तथ्यांक प्रस्तुत गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा विदेशी नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। विभागले होटल, लज, ट्रेकिङ तथा पर्वतारोहण एजेन्सीहरू, आन्तरिक वायु सेवा, हेलिकप्टर र सार्वजनिक यातायात सेवा प्रदायकहरू टुर एण्ड ट्राभल एजेन्ट, टुरिष्ट गाइड र पर्यटक प्रहरी, बैंक, वित्तीय संस्था, मनी चेन्जर र टेलिकम सेवा प्रदायक कम्पनीहरूलाई आबद्ध हुन भनेको छ ।

अन्तरक्रियामा व्यवसायीहरूले डाटा सुरक्षाको विषय उठाएका थिए । विभागले प्रश्नलाई सम्बोधन गर्दै तथ्यांक सुरक्षाको पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । विभागका अनुसार विदेशी नागरिकहरूको राहदानी नम्बर र मुलुकको नामबाहेक अन्य व्यक्तिगत विवरण संकलन गरिने छैन। यो प्रणाली विभागको केन्द्रीय प्रणाली नेपालीपोर्टअन्तर्गत सुरक्षित रहने र यसको प्रयोग राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको सुरक्षा र अपराध अनुसन्धानबाहेक अन्य प्रयोजनमा गरिने छैन।