काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जातजाति तथा सम्प्रदायबीच घृणा र द्वेष फैलाएको अभियोगमा सोमबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अदालतका तहशिलदार देवराज भट्टराईका अनुसार प्रसाईंविरुद्ध साइबर अपराध तथा राज्यविरुद्धको कसुर गरी दुईवटा आरोपमा पर्सा प्रहरीले मुद्दा दर्ता गरेको हो ।

ADVERTISEMENT

उनका अनुसार अभियोगपत्रसँगै प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो । तर समयाभावका कारण सोमबार बयान प्रक्रिया सुरु हुन नसकेपछि अदालतले उनलाई पुनः हिरासतमा पठाएको छ ।

ADVERTISEMENT

प्रसाईंको बयान तथा थुनछेकसम्बन्धी बहस मंगलबार हुने अदालतले जनाएको छ ।

“आज मुद्दा दर्ता भयो । भोलि मात्रै बयान र थुनछेक प्रक्रिया हुनेछ । प्रसाईंलाई कार्यालय खुलेलगत्तै अदालतमा हाजिर गराइएको थियो,” तहशिलदार भट्टराईले बताएका छन् ।

ADVERTISEMENT

प्रहरीले दायर गरेको आरोपपत्रमा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै विभिन्न जातजाति तथा सम्प्रदायबीचको सामाजिक सद्भाव बिगार्ने गरी घृणा र द्वेष फैलाएको दाबी गरिएको छ ।

प्रसाईं गत जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ परेका थिए ।

यसअघि प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कानुनबमोजिम थप गरिएको म्यादभित्र अनुसन्धान पूरा गरी मुद्दा दर्ता नभए हिरासतबाट रिहा गर्न आदेश दिएको थियो ।

दुर्गा प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’ का संयोजकसमेत हुन् ।