काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्बोधन गर्ने गरी पत्राचार गरिएको छ ।

प्रधानमन्त्रीले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ । गणतन्त्र दिवस समारोहलाई यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास भए पनि यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेनले पत्राचार गरेका हुन् ।

ADVERTISEMENT

यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् नै अवरोध गरेका थिए । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

ADVERTISEMENT

त्यसपछि प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसद्‌मा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् । उनीहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रश्नोत्तरमा सहभागी हुने मिति मागेका थिए । तर, सभामुखलाई प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्‌मा उपस्थित भएर जवाफ दिने’ बताएर फर्काइदिएका थिए ।