काठमाडौं। एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ। बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनात्मक व्यवस्थापन तथा निर्वाचनपछिको रणनीतिबारे छलफल भइरहेको छ।
शुक्रबारबाट सुरु भएको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी रहेको छ। अघिल्लो बैठकमा उपाध्यक्षहरूले आफ्नो विचार प्रस्तुत गरिसकेकाले शनिबार महासचिव, उपमहासचिव र सचिवहरूले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी दिशाबारे धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा नेताहरूको धारणा संकलन सम्पन्न भएपछि औपचारिक कार्यसूचीमा प्रवेश गरिने जनाइएको छ। त्यसक्रममा पार्टीभित्र जिम्मेवारी बाँडफाँट, हालैको निर्वाचन परिणामको समीक्षा गर्न कार्यदल गठन तथा संगठनलाई थप सक्रिय बनाउने विषयमा छलफल हुने बताइएको छ।
एमाले नेतृत्वले बैठकलाई आगामी राजनीतिक रणनीति निर्माण र पार्टी संगठनलाई पुनः व्यवस्थित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।








