वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलवारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि नगर्न निर्देशन दिएका छन् ।
खाडी क्षेत्रका मित्र राष्ट्रहरूले इरानसँगको सर्वमान्य शान्ति सम्झौताका लागि पहल गरिरहेकाले सैन्य कारबाही रोकिएको उनले बताए।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले भोलिका लागि तय गरेको इरानमाथिको आक्रमण अहिलेलाई स्थगित गरेका छौँ ।’
यद्यपि, यदि कुनै स्वीकार्य सम्झौता हुन नसकेको खण्डमा जुनसुकै समयमा पनि पूर्ण र ठूलो स्तरको सैन्य आक्रमणका लागि तयारी अवस्थामा रहन उनले पेन्टागनलाई आदेश दिएका छन् ।
ट्रम्पकाअनुसार हाल इरानसँग गम्भीर वार्ता भइरहेको छ र खाडी मुलुकका नेताहरूको विश्वास बमोजिम अमेरिका, मध्यपूर्व र अन्य देशहरूलाई समेत मान्य हुने गरी छिट्टै सम्झौता हुने देखिन्छ । यस सम्झौताको सबैभन्दा महत्वपूर्ण पाटो इरानले आणविक हतियार प्राप्त नगर्नु नै रहेको उनले स्पष्ट पारेका छन् ।
कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको विशेष अनुरोधमा आफूले प्रस्तावित सैन्य आक्रमण रोकेको ट्रम्पले उल्लेख गरेका छन् ।








