काठमाडौं। चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवादका क्रममा भएको चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ।
महोत्तरी घर भएका समी अहमद र उनका सालो जाकिर मन्सुरीबीच शनिबार राति भएको विवाद हिंसात्मक बनेपछि घटना भएको प्रहरीले जनाएको छ। विवाद बढ्दै जाँदा समी अहमदले मन्सुरीमाथि चक्कु प्रहार गरेका थिए।
गम्भीर घाइते भएका मन्सुरीको उपचारअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले आरोपी समी अहमदलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतक मन्सुरीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाको कारण र विवादको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।





