काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक तथा बाह्य दबाबका बावजुद आर्थिक वृद्धि ३.८५ प्रतिशत कायम रहने प्रारम्भिक अनुमान गरिएको छ। कृषि क्षेत्रको वृद्धिदर मौसम प्रतिकूलता र प्राकृतिक प्रकोपका कारण १.५८ प्रतिशतमा सीमित हुने देखिएको छ भने उद्योग क्षेत्र ५.६७ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले विस्तार हुने अनुमान छ।

चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको र थोक तथा खुद्रा व्यापार, पर्यटन, जलविद्युत्, वित्तीय तथा बीमा, यातायात, भण्डारण र सूचना प्रविधि क्षेत्रमा विस्तार हुँदै गएको कारण समष्टिगत मागमा क्रमिक सुधार हुने अपेक्षा गरिएको छ। सरकारको शासकीय, आर्थिक तथा कानूनी सुधार र मौद्रिक नीतिको निरन्तरताले लगानी र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने प्रक्षेपण छ।

ADVERTISEMENT

सोही अवधिमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको बताइएको छ। तर आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत मात्र रहेको र यो लक्षित सीमाभित्र रहने प्रक्षेपण गरिएको छ। यसलाई लक्ष्यभन्दा करिब ५० प्रतिशत कम भएको अवस्था मानिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फीति हाल लक्ष्यभन्दा न्यून भए पनि विश्व भू–राजनीतिक तनावका कारण भविष्यमा मुद्रास्फीतिमा चाप पर्ने जोखिम रहेको छ। विशेषगरी पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएको उल्लेख छ।

बाह्य क्षेत्रमा भने स्थिति सहज रहेको छ। विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेसँगै चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको छ। तर पश्चिम एसियामा निर्भर विप्रेषण (करिब ४० प्रतिशत) प्रभावित भएमा र इन्धन तथा आयातित वस्तुको मूल्य बढेमा व्यापार घाटा विस्तार हुने तथा विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम पनि औंल्याइएको छ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढे पनि आर्थिक गतिविधि सुधारसँगै सुधार हुने अपेक्षा गरिएको छ। प्राथमिक पुँजी र पुँजीकोष जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको र समग्र वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा कायम रहेको अधिक तरलता व्यवस्थापन गर्न आवश्यक कदम चाल्नुपर्ने विषयमा राष्ट्र बैंकले सजगता अपनाइरहेको जनाएको छ।