काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा आउटसोर्सिङमार्फत कार्यरत सुरक्षाकर्मी तथा अन्य श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न कडा कदम चालेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल राष्ट्र बैंक लाई पत्राचार गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूमा श्रम ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएको हो।
बैंकहरूले सुरक्षाकर्मी, सवारी चालक तथा कार्यालय सहयोगी लगायतका पदमा तेस्रो पक्षमार्फत श्रमिक आपूर्ति गराएर न्यूनतम सेवा–सुविधा समेत नदिएको गुनासो श्रम मन्त्रालयमा परेपछि सरकार सक्रिय भएको हो।
श्रमिकहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै प्रधानमन्त्री कार्यालयको ‘हेलो सरकार’ पोर्टल, मन्त्रालय तथा विभागमा पटक–पटक उजुरी गरेका थिए।उक्त गुनासो सम्बोधन गर्न रामजी यादव को निर्देशनपछि विभागले राष्ट्र बैंकलाई कडा निर्देशन जारी गरेको हो।
विभागका अनुसार कतिपय बैंक तथा वित्तीय संस्थाले आउटसोर्सिङमार्फत श्रमिक परिचालन गरे पनि श्रमिकहरूले श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ अनुसार पाउनुपर्ने न्यूनतम तलब, बिदा, बिमा, उपदान तथा चाडपर्व खर्च जस्ता सेवा–सुविधाबाट वञ्चित भएका छन्।
यसअघि २०८२ चैत २७ गते पनि विभागले श्रम कानुन कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। तर, गुनासो कायमै रहेपछि थप सक्रियता देखाउन पुनः निर्देशन दिइएको हो।यसपटक विभागले श्रम अडिटलाई थप कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। श्रम नियमावली, २०७५ को नियम ५६ अनुसार प्रत्येक प्रतिष्ठानले हरेक वर्ष पुस मसान्तभित्र श्रम अडिट गराउनुपर्ने कानुनी व्यवस्था छ।
विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो श्रम अडिट प्रतिवेदन अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्ने प्रावधान रहेको विभागले स्मरण गराएको छ।त्यस्तै, श्रमिक आपूर्ति गर्ने कम्पनीहरूलाई पनि सरकारले अल्टिमेटम दिएको छ। विभागले नेपाल श्रमिक आपूर्तिकर्ता संघ तथा सुरक्षा व्यवसायी संगठनलाई पत्राचार गर्दै श्रम ऐनअनुसार तत्काल न्यूनतम पारिश्रमिक र सेवा–सुविधा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
विभागले स्पष्ट चेतावनी दिँदै श्रम ऐन र नियमावलीअनुसार पाउनुपर्ने सुविधा उपलब्ध नगराए कडा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।













