काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् । त्यसपछि अहिले संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले १५ मिनेट संसद् बैठक स्थगित गर्न माग गरेपछि सभामुखले सदनको कामकारबाही रोकेका हुन् । अहिले सभामुख डिपी अर्यालको कार्यकक्षमा सत्ता पक्ष रास्वपा र विपक्षी दलका पदाधिकारी छलफलमा छन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको राजीनामा माग्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव राख्न रोष्टममा डाकेपछि विपक्षी दलहरूले विरोध जनाएका हुन्। प्रधानमन्त्री शाह आज संसदमा उपस्थित छैनन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने प्रधानमन्त्रीलाई असक्षम भन्दै राजीनामा माग गरे। ‘प्रधानमन्त्री राजीनामा दे,’ साम्पाङले भने, ‘असक्षम प्रधानमन्त्री राजीनामा दे। असक्षम प्रधानमन्त्री राजीनामा दे। यस्ता प्रधानमन्त्री चाहिँदैन।’
साम्पाङले विधीबाट संसद चलाउनसमेत सभामुखलाई आग्रह गरे। ‘यो देशमा प्रधानमन्त्री छैन भने, ‘छैनु भन्नुस्’, साम्पाङले भने, ‘प्रधानमन्त्री छैन भने प्रधानमन्त्री विनाको सरकार भन्नुपर्यो। नत्र भने अनिवार्य उपस्थिति हुनुपर्छ। संसदमा सम्बोधन नगर्ने प्रधानमन्त्री हुन्छ ?’ लगत्तै साम्पाङका पार्टीका सांसदहरू बैठकबाट बाहिरिएका थिए।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री के काममा बिजी भएको हो भन्दै प्रश्न गरे । सिंहदरबारमा कालो चश्मा लगाएर बसेका प्रधानमन्त्री संसदमा उपस्थित नभए नीति तथा कार्यक्रममाथि छलफल नहुने उनले बताए ।








