धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बनेको छ। केही वर्षअघिसम्म सुनसान र उजाड बगरका रूपमा रहेको क्षेत्र अहिले श्रमदानमार्फत विकसित भएर लोकप्रिय पर्यटन गन्तव्यमा रूपान्तरण भएको हो।
विशेषगरी पार्कभित्र निर्माण गरिएको आकर्षक वाटर फाउन्टेन, हरियाली वातावरण, चौतारा, फूलबारी तथा सांस्कृतिक संरचनाले पर्यटकको ध्यान तानिरहेको छ।
सिराहाको धनगढीमाई नगरपालिकाबाट घुम्न आएका हरिनारायण चौधरीले सामाजिक सञ्जालमा देखेपछि पहिलोपटक पार्क अवलोकन गर्न आएको बताउँदै यहाँको प्राकृतिक सौन्दर्यले प्रभावित बनाएको बताए। उनका अनुसार पार्कको वातावरण यति रमणीय छ कि अन्य स्थान घुम्ने योजना भए पनि दिनभर यहीँ बिताउन मन लागेको थियो।
पहिले ओशो पार्क र बीपी पार्कका रूपमा परिचित क्षेत्र अहिले श्रम संस्कृति पार्क नामले चिनिन थालेको छ। श्रमदान अभियानपछि यहाँ एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्क तथा गोर्खा चौतारीलगायत विभिन्न संरचना निर्माण भएका छन्।
सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा फैलिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थल, बगैँचा र स्थानीय संस्कृति झल्काउने कलात्मक संरचना निर्माण गरिएका छन्। धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमूना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डो आकारको धारा पनि पर्यटकको आकर्षण बनेका छन्।
झापाबाट साथीहरूसहित पार्क घुम्न आएकी जयन्ती जिमीले पाँच–छ वर्षअघिको उजाड क्षेत्र अहिले हरियाली र सुन्दर पार्कमा बदलिएको देख्दा खुसी लागेको बताइन्।
पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको संख्या उल्लेख्य रूपमा बढेको छ। स्थानीय व्यवसायी सुरज गुरुङका अनुसार पहिले चार–पाँच वटा मात्रै खाजा घर रहेको क्षेत्रमा अहिले दुई दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा आएका छन्।
पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार हाल दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक पार्कमा आउने गरेका छन् भने बिदाका दिनमा यो संख्या पाँच हजारसम्म पुग्ने गरेको छ।
धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राई (साम्पाङ) को नेतृत्वमा सुरु गरिएको श्रमदान अभियानमार्फत पार्कको विकास गरिएको हो। स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट पार्क विस्तार गरिएको समितिले जनाएको छ।
हाल पार्क क्षेत्रमा करिब २५ देखि २८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै, कोशी प्रदेश सरकारको ४० लाख रुपैयाँ सहयोगमा फुस्रे चोकदेखि पार्कसम्मको करिब एक किलोमिटर सडक कालोपत्र भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको छ।








