काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो ।
संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन,मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
परिषद्को सदस्यमा प्रधानन्यायाधीश पनि पदेन रहन्छन् । तर कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल आफैं प्रधानन्यायाधीशको दाबेदार भएकाले उनलाई बैठकमा बोलाइएको छैन । विगतमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुँदा बहालवाला प्रधानन्यायाधीश परिषद्को बैठकमा सहभागी हुने परम्परा थियो ।
प्रधानन्यायाधीशका लागि वरिष्ठतम ६ जना न्यायाधीश दाबेदार छ । जसमा मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ छन् । प्रधानन्यायाधीश नियुक्तिबाटै प्रधानमन्त्री बालेनको परीक्षण हुने विश्लेषण हुन थालेको छ ।
वरिष्ठताका आधारमा सपना प्रधान मल्ल र निकटताका आधारमा तिलप्रसाद श्रेष्ठमध्ये एक भावी प्रधानन्यायाधीश नियुक्त हुने बताइन्छ । संवैधानिक परिषद् नियुक्तिको सिफारिस भएपछि संसदीय सुनुवाइ गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।









