काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।
नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजनामा तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म सञ्चालन भएको उक्त शिविरमा जलनसम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको हो।
नबिल बैंकका अनुसार शिविरका क्रममा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा सफल शल्यक्रिया गरिएको छ। तीमध्ये जटिल अवस्थाका ६ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ।
शिविर सञ्चालनअघि मधेश प्रदेशका ६ जिल्लाका २७ वटा पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीले स्थानीय तहमा पुगेर बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा विवरण संकलन गरेका थिए।
नबिल बैंकले विशेषज्ञ चिकित्सकमार्फत दुर्गम तथा उपचार पहुँचबाट टाढा रहेका जलनपीडितलाई निःशुल्क उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा अझै पनि धेरै जलनपीडित उचित उपचारको पहुँचबाट वञ्चित रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो शिविर आयोजना गरिएको बताए।
उनले मधेश प्रदेशका दुर्गम क्षेत्रका जलनपीडितलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरले उपचार पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
बैंकका अनुसार आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै प्रकृतिको निःशुल्क जलन उपचार शिविर सञ्चालन गरिनेछ।
शिविरमा फेक्ट नेपाल तथा कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहित विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
डा. राईले चारदिने शिविर अपेक्षाभन्दा प्रभावकारी भएको बताउँदै जलनका बिरामीको उपचारसँगै नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्नु पनि अभियानको मुख्य उद्देश्य रहेको बताए।
“भविष्यमा यस्ता उपचार सेवा नारायणी अस्पतालबाटै नियमित सञ्चालन होस् भन्ने हाम्रो चाहना छ,” उनले भने।
नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले लामो समयदेखि उपचार अभावमा कष्टकर जीवन बिताइरहेका बिरामीका लागि शिविर निकै फलदायी भएको बताए।
उनका अनुसार उपचारपछि बिरामीहरूको व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।
नबिल बैंकले यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि निःशुल्क जलन उपचार शिविर सञ्चालन गरिसकेको छ। गत फागुनमा धनगढीमा आयोजित शिविरबाट ६५ जना तथा चैतमा कर्णाली प्रदेशमा आयोजित शिविरबाट १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, सामाजिक उद्यमशीलता, विकास तथा रोजगारी सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
Related Post





