काठमाडौं । आइसीसी विश्वकप लिग–२ को जारी शृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ३९.४ ओभरमा १७५ रन बनाउँदै अलआउट भएको हो ।
आजको खेलमा नेपालका तीव्र गतिका बलर गुल्सन झाले उत्कृष्ट बलिङ गरे । उनले नौ ओभर बलिङ गर्दै पाँच विकेट लिए । उनकै घातक बलिङले ओमानको ब्याटिङ लाइन क्र्यास भएको थियो ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । ओपनर ब्याटर तथा आजको खेलमा डेब्यू गरेका डेब्यूटेन्ट हशनैन उल वहाबले २९ रन बनाए।
ओमानमाथि जित निकाल्दै नेपालले जारी शृंखलाको चार मध्ये तीन खेल जितेको छ । अब नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुर मैदानमा अमेरिका र स्कटल्यान्डसँग दुई दुई गरी चार खेल खेल्नेछ ।






