काठमाडौं । कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शुक्रबार फाइनलमा प्रवेश गरेको ।
कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ । अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्णले १२ अंकसाथ लिगको शीर्ष स्थान ओगटेको थियो ।
६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ । त्यस्तै, लिगमा दोश्रो र तेश्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेफ खेल्नु पर्ने थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको त्यही प्लेअफमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित ग¥यो । कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए । लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो ।
विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।
पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।






