काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमा कम्युनिस्ट एकता गरेर समाजवाद ल्याउने इच्छा अझै मरेको छैन । बेलाबेलामा उनले कम्युनिस्टलाई गोलबद्ध गरेर नेपालमा समाजवाद ल्याउने भाषण गर्न छाडेका छैनन् ।

प्रचण्डले क्रान्तिको सपना अझै पूरा नभएको दाबी गरेका छन् । रुकुमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आइतबार आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने बताए ।

ADVERTISEMENT

‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं’, उनले भने ।

पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक दललाई मिलाएर अगाडि बढाइने दाबीसमेत गरे ।

ADVERTISEMENT

प्रचण्ड आफैं माओवादी आन्दोलन समाप्त पारेर अर्कै पार्टी खोल्न पुगेका छन् । उनले कम्युनिस्ट एकताको नारा लगाउँदै आए पनि एमालेलगायत अन्य साना कम्युनिस्टले पत्याएका छैनन् । एमालेले स्पष्ट रुपमा प्रचण्डलाई नेतृत्व स्वीकारेर पार्टी एकता नगर्ने बताइसकेको छ । त्यही भएर अहिले प्रचण्डले आफ्नो नेतृत्वमा कम्युनिस्टबीच एकता गर्ने प्रयास जुन छ, त्यसले सार्थकता नपाउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेपाल जस्ताे संसदमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत ल्याएर शक्तिशाली सरकार गठन गरेर धमाधम काम गर्न थालेकाले प्रचण्डकाे भाषणप्रति जनतामा जनचासाे देखिन छाडेकाे छ ।