काठमाडौं । नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, लगानी तथा व्यापार प्रवर्द्धन विषयमा छलफल भएको मन्त्री खनालले जानकारी दिएका छन् ।
भारतका लागि अमेरिकी राजदूत गोरले यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेसँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेका थिए ।भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी र विकास सहायताका विविध आयामबारे महत्त्वपूर्ण छलफल भएको छ । करिब २० मिनेट चलेको वार्तामा दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।
गोर शुक्रबार बिहान एभरेष्ट बेसक्याम्प पुगेका थिए । उनले बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरे । गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ गोरले प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग भेट नपाउने भएका छन् । उनले शनिबार रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेर नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।













