काठमाडौं । नबिल बैंकले तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली को उपस्थितिमा सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर कक्षाको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाह, नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेलगायत बैंकका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कर्मचारी हितलाई प्राथमिकता दिँदै आएको बैंकले कार्यालयमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुम स्थापना गरेको जनाएको छ। बैंकका अनुसार यस कक्षले कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण सिर्जना गर्नेछ।

सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारीले यस पहलले कर्मचारीप्रतिको बैंकको जिम्मेवारीलाई थप मजबुत बनाएको बताइन्।

ADVERTISEMENT

अध्यक्ष चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट सकारात्मक सुरुवात भएको उल्लेख गर्दै लैङ्गिक समानता र कर्मचारी हित नबिल बैंकका प्रमुख मूल्य रहेको बताए। उनले हाल केन्द्रीय कार्यालयबाट सुरु गरिएको यो सुविधा आगामी दिनमा अन्य शाखाहरूमा समेत विस्तार गरिने जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्ता प्रयासले कर्मचारीमैत्री कार्य वातावरण निर्माणमा सहयोग पुग्ने बताए।

नबिल बैंकले हाल देशभर २६८ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्दै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।