काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजी) पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
हालका आईजी राजु अर्याल वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्दै आएका थिए। कानुनी व्यवस्था अनुसार सशस्त्र प्रहरीको आईजी पदावधि चार वर्षको हुने व्यवस्था छ।
आईजी पदका लागि प्रतिस्पर्धामा एआईजी नारायणदत्त पौडेलसँगै एआईजी वंशीराज दाहाल रहेका थिए। पौडेल २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ मा सो पदमा बढुवा भएका थिए।
वरीयता क्रममा पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले आईजीमा नियुक्त गर्ने निर्णय गरेको हो।






