काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा बिहीबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा महानिरीक्षक पौडेलले सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरी राष्ट्र तथा सङ्गठनको झण्डा विश्वको सर्वोच्च शिखरमा फहराउनु गौरवको विषय भएको बताए । उनले उच्च मनोबल, आँट र साहसका साथ गरिएको यो उपलब्धिले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीमा प्रेरणा, उत्साह र हौसला थपिएको उल्लेख गरे ।
उनले यस्ता साहसिक तथा प्रेरणादायी कार्यलाई सशस्त्र प्रहरीले आगामी दिनमा अझ उच्च प्राथमिकताका साथ अगाडि बढाउने पनि बताए । साथै हिमाली तथा उच्च पहाडी क्षेत्रमा सुरक्षा र उद्धार क्षमता अभिवृद्धिका लागि मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत उच्च भू–भाग खोज तथा उद्धार तालिम सञ्चालन भइरहेको जानकारी दिए ।
महानिरीक्षक पौडेलका अनुसार ती तालिमले हिमाली तथा सीमावर्ती क्षेत्रमा उद्धार र सुरक्षा कार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
सम्मान कार्यक्रममा आरोही निम डिक्की शेर्पा र अनिता कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सगरमाथाको चुचुरोमा फहराउन पाउनु आफूहरूका लागि गर्वको विषय भएको बताए । सफल आरोहणका लागि सहयोग, समन्वय र साथ दिने सशस्त्र प्रहरी बल नेपालसहित सम्पूर्णप्रति उनीहरूले आभार व्यक्त गरेका थिए ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ः५५ बजे सगरमाथा तथा जेठ ४ गते दिउँसो ३ः२५ बजे लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेका छन् ।








