पोर्चुगल । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल भएका हुन् । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उनी स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन् ।

ADVERTISEMENT

तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध भएका छन् । उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बीच उनलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो ।

समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ADVERTISEMENT

स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको भण्डारीले बताएका छन् । उनले भने, ‘विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो । पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ । यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।’ भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन । ‘यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ, उनले भने ।

भण्डारीको यो यात्रा सहज भने थिएन । सुरुवातमा उनले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उनले आभार प्रकट गरे ।

‘नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरी समेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ’, भण्डारीले भने, ‘तालिममा सहभागी भएका २२ जनामध्ये ६ जना मात्र छनोट भएका छौँ । जसमा म मात्र एसियाली क्षेत्रको हुँ ।’

उनको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए । त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताए । ‘यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ । यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ’, उनले भने ।

लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुगेका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाए । पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरु गरेपछि सामाजिक सेवामा संलग्न भएको उनको भनाइ छ ।

पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ । यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।