काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने क्रममा डोजर चलाइएपछि घरबारविहीन बनेका परिवारहरू अहिले दर्ता प्रक्रियाका लागि सरकारको सम्पर्कमा आउन थालेका छन्।
दशरथ रंगशालामा अस्थायी रूपमा सञ्चालन गरिएको दर्ता केन्द्रमा सुकुम्वासीहरूको विवरण संकलन भइरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत विकास समितिले संयुक्त रूपमा परिवारको तथ्यांक संकलन गरिरहेका छन्।
वाग्मती सभ्यता आयोजनाका निर्देशक मचाकाजी महर्जनका अनुसार, थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रबाट हालसम्म ४३२ परिवार सरकारको सम्पर्कमा आएका छन्। तथ्यांकअनुसार थापाथलीमा वर्षौँदेखि बस्दै आएका १३२ परिवारमध्ये ३४ परिवार मात्र सम्पर्कमा आएका छन् भने गैरीगाउँका १६२ परिवारमध्ये पनि सीमित संख्या मात्र दर्तामा आएका छन्।
मनोहरामा भने ७७७ परिवार बस्दै आएको तथ्यांक रहेकामा आइतबारदेखि त्यहाँ पनि बस्ती हटाउने काम जारी छ। यसअघि शनिबार थापाथली र गैरीगाउँमा डोजर चलाइएको थियो।
बस्ती हटाइएपछि धेरैजसो सुकुम्वासी आफैं अन्यत्र सरेका छन् भने सम्पर्कमा आएका परिवारलाई अस्थायी रूपमा विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ।
काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार, सम्पर्कमा आएका सुकुम्वासीहरूको स्वास्थ्य परीक्षण, खाना र बसोबासको व्यवस्था भइरहेको छ। उनका अनुसार केहीले सरकारी सेल्टरमा बस्न नमानेर आफन्तकहाँ जाने विकल्प रोजेका छन्।
महानगरपालिकाले शनिबार २३२ जनालाई राधास्वामी सत्संग व्यास आश्रममा लगेको थियो, जसमध्ये १३२ जनाले त्यहीँ आश्रय लिएका छन्। त्यस्तै, बालाजु क्षेत्रका होटलहरूमा १११ जनालाई अस्थायी रूपमा राखिएको छ।सरकारको सम्पर्कमा आउने क्रम अझै जारी रहेको र दर्ता प्रक्रिया तथा बस्ती हटाउने काम सँगसँगै भइरहेको जनाइएको छ।
यसअघि काठमाडौं महानगरपालिकाका प्रमुखका रुपमा रहँदा बालेन्द्र शाहले वास्तविक सुकुम्वासी र अतिक्रमणकारी छुट्याउने र वास्तविक सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।








