काठमाडौं। सीजी फुड्स नेपालले वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ। कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित उक्त उत्पादन सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ७५ ग्रामको वाइ वाइ क्लासिक प्याकेटको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ। वाइ वाइको मौलिक स्वादलाई जोगाउँदै उत्पादनलाई अझ परिस्कृत रूपमा उपभोक्तामाझ प्रस्तुत गरिएको दाबी गरिएको छ। यसमा डिहाइड्रेटेड भेजिटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई अझ सन्तुलित बनाइएको कम्पनीले जनाएको छ।
वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्डका रूपमा स्थापित छ। विद्यालयको टिफिनदेखि घरायसी खाजासम्म, होस्टेल जीवनदेखि पारिवारिक भान्सासम्म यसले विभिन्न पुस्तासँग सम्बन्ध कायम गर्दै आएको छ।
कम्पनीका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर–परिवारको अभिन्न हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइ वाइ क्लासिकमार्फत पुरानो स्वाद र भावनालाई पुनः जीवन्त बनाउने प्रयास गरिएको बताए।
कम्पनीले यस उत्पादनमार्फत उपभोक्ताको वाइ वाइसँग जोडिएका पुराना सम्झना र अनुभवलाई पुनः ताजा बनाउने विश्वास व्यक्त गरेको छ।
नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइ वाइ अहिले अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार हुँदै गएको छ। विश्व बजारमा करिब ४ प्रतिशत हिस्सा ओगट्दै आएको यस ब्रान्डको वार्षिक वृद्धि दर करिब २० प्रतिशत रहेको जनाइएको छ, जसले नेपाली उत्पादनको विश्वस्तरीय प्रतिस्पर्धा क्षमता देखाएको कम्पनीको भनाइ छ।








