पोखरा। गण्डकी प्रदेश सरकारले संसद सचिवालयका लागि नयाँ सवारी साधन खरिद गर्ने निर्णय गरेको छ। वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले करिब ४ करोड रुपैयाँ बराबरको गाडी खरिदका लागि सैद्धान्तिक सहमति दिएको हो।

गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा सभामुख, उपसभामुखसहित संसद सचिवालयका चारवटा सवारी साधन जलेका थिए। त्यसपछि अस्थायी रूपमा अन्य स्रोतबाट सवारी प्रयोग भइरहेको अवस्थामा अब नयाँ गाडी खरिद प्रक्रिया अघि बढाइएको हो।

ADVERTISEMENT

प्रदेशका अर्थमन्त्री जीत बहादुर शेरचनका अनुसार आवश्यकताका आधारमा गाडी खरिद गर्न लागिएको हो र विद्युतीय सवारी (ईभी) खरिद गर्ने विषयमा प्राथमिकतासाथ छलफल भइरहेको छ। साथै मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा जलेका ११४ सवारी साधन लिलाम गर्ने निर्णय पनि गरेको छ।

यसैबीच प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण निर्णय गरेको छ। संक्रामक तथा सरुवा रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको ‘आपतकालीन स्वास्थ्य सेवा कोष’ स्थापना गर्ने निर्णय गरिएको छ। सो कोषमार्फत महामारी, संक्रामक रोग र आकस्मिक स्वास्थ्य संकटको समयमा आवश्यक खर्च व्यवस्थित रूपमा गर्ने लक्ष्य राखिएको छ।

ADVERTISEMENT

सरकारले ‘आपतकालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि’ समेत पारित गरेको छ। पछिल्लो समय बागलुङमा देखिएको दादुरा संक्रमणजस्ता अवस्थालाई ध्यानमा राख्दै भविष्यमा यस्ता समस्याको प्रभावकारी व्यवस्थापनका लागि कोष आवश्यक भएको जनाइएको छ।

त्यसैगरी प्रदेश सरकारले कर्मचारी कल्याणसँग सम्बन्धित अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। प्रदेश निजामती सेवा र स्थानीय तहका कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू गर्न विधेयकको अवधारणा स्वीकृत गरिएको छ।

उक्त विधेयकमार्फत प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको भविष्य सुरक्षित गर्न योगदानमा आधारित कल्याणकारी कोष निर्माण गरिनेछ। सरकारले कर्मचारीको उपदान तथा निवृत्तिभरणलाई व्यवस्थित बनाउन यो पहल अघि बढाएको जनाएको छ।

प्रदेश सरकारले एकै बैठकबाट पूर्वाधार, स्वास्थ्य र प्रशासनिक सुधारसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्दै समग्र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा कदम अघि बढाएको जनाएको छ।