काठमाडौं। एसियन बीच गेम्स २०२६ अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेल आज बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल चिनियाँ समयअनुसार दिउँसो ४ बजे तथा नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुने तय भएको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। त्यस्तै बंगलादेशले पनि आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ५१–३४ ले हराउँदै मजबुत प्रदर्शन गरेको छ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। नेपालले यो खेल जित्न सके प्रतियोगितामा कम्तीमा कास्य पदक सुरक्षित हुनेछ, जसले टोलीको पदक यात्रा सुनिश्चित गर्नेछ।

चीनमा जारी यस प्रतियोगितामा १४ खेलअन्तर्गत ६२ वटा विधामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा ४५ देशका १ हजार ८ सयभन्दा बढी खेलाडी सहभागी छन्।

नेपालले पहिलो खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन सके आजको खेलमा सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ।