काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना दिने उद्देश्यले एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा सम्पन्न भएको हो।

 कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचित सिटिजन लाइफसँग आबद्ध दुई सांसद भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित र समानुपातिक सांसद प्रमिला कुलुजुलाई बधाई तथा शुभकामना दिइएको थियो।

कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा र सम्मानपत्र प्रदान गरेका थिए।

प्रमिला कुलुजुले सिटिजन लाइफसँगको अनुभवले आफ्नो व्यक्तित्व विकास, नेतृत्व क्षमता र टिमवर्कमा ठूलो योगदान दिएको बताइन्। उनले कम्पनीसँगको यात्रा आफ्नो राजनीतिक यात्रामा उपयोगी भएको पनि उल्लेख गरिन्।

रुकेश रञ्जितले बीमा क्षेत्रका चुनौती, विशेषगरी कर प्रणाली (ट्याक्स ब्र्याकेट) सम्बन्धी विषय संसदमा उठाउने बताए। उनले बीमा क्षेत्रको सुधार र जनविश्वास बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए।कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत (सीएमओ ) भुषण रिमालले आफ्नै अभिकर्ताहरू नीति निर्माण तहसम्म पुग्नु कम्पनीका लागि सकारात्मक उपलब्धि भएको बताए।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीइओ ) पोषक राज पौडेलले निर्वाचित सांसदहरूलाई शुभकामना दिँदै उनीहरूको अनुभवले बीमा क्षेत्रको विकास र नीतिगत सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अभिकर्तालाई पहिलेदेखि नै “सिटिजन लिडर्स” भनेर सम्बोधन गर्दै आएको उल्लेख गरे।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ। कम्पनीले यस्ता उपलब्धिहरूले बीमा क्षेत्रको विकाससँगै भविष्यका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।