काठमाडौँ। इरानको संसदका उपसभामुख हमिदरेजा हाजी बाबाईले स्ट्रेट अफ हर्मुज हुँदै पार हुने जहाजहरूबाट लगाइएको ट्रान्जिट शुल्कबाट पहिलो आम्दानी प्राप्त भएको र उक्त रकम देशको केन्द्रीय बैंक खातामा जम्मा गरिएको बताएका छन्।
सरकारी नजिकको तस्नीम समाचार एजेन्सीलाई उद्धृत गर्दै उनले शुल्क संकलनबारे थप विवरण भने सार्वजनिक नगरेको र कति जहाजबाट रकम उठाइयो वा कसले भुक्तानी गर्यो भन्ने स्पष्ट नभएको जनाइएको छ। उनको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बताइएको छ।
यसैबीच अर्का सांसद अलीरेजा सालिमीले पनि विश्वसनीय स्रोतलाई उद्धृत गर्दै स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाजहरूबाट इरानले शुल्क उठाउन थालेको बताएका छन्। उनका अनुसार जहाजको प्रकार, कार्गोको मात्रा र जोखिम स्तरका आधारमा शुल्क फरक–फरक निर्धारण गरिएको छ।
सालिमीले शुल्क संकलनको नियम र दर इरानले नै निर्धारण गर्ने बताएका छन्। तर कति जहाजबाट शुल्क उठाइयो भन्ने विवरण सार्वजनिक गरिएको छैन।
यसअघि पनि इरानले उक्त सामुद्रिक मार्गबाट पार हुने जहाजहरूका लागि शुल्क लिने तयारी गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए। मार्च महिनामा इरानले भारतमा लगानीकर्तामाथि प्रतिघटनामा जहाजबाट २ मिलियन डलर शुल्क लिने दाबी अस्वीकार गरेको थियो।
त्यसैगरी केही अन्तर्राष्ट्रिय रिपोर्टहरूमा इरानले जहाजहरूलाई इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्समार्फत अग्रिम भुक्तानी गर्न र क्रिप्टोकरेन्सी वा चिनियाँ युआनमा शुल्क तिर्नुपर्ने व्यवस्था गर्न खोजिरहेको उल्लेख गरिएको थियो।
यसअघि नै ट्रम्पले इरानलाई शुल्क नलगाउन चेतावनी दिँदै यस्तो अभ्यास तत्काल रोक्नुपर्ने बताएका थिए। साथै उनले इरानलाई यो मार्ग प्रयोग गर्दा शुल्क दिने जाहजहरुलाई यसमा सामिल भएर इरानलाई हर्मुजमा आर्थिक नियन्त्रण गर्न सहयोग नगर्न सम्झाएका थिए ।
विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुजबाट हुने यातायात पछिल्ला महिनामा तनावका कारण प्रभावित भएको बताइन्छ, जसले विश्व ऊर्जा बजारमा अस्थिरता बढाएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधपछि इरानसँगको युद्धविराम थप अघि बढाइएको र त्यस अवधिमा शान्ति प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताएका छन्।







