काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयका विषयमा परेको रिट निवेदनको सुनुवाइ बिहीबारका लागि तय भए पनि अन्तिम समयमा स्थगित गरिएको छ। महान्यायाधिवक्ता कार्यालय ले सुनुवाइ सार्न माग गर्दै निवेदन दिएपछि सर्वोच्च अदालतले सो दिनको पेसी स्थगित गरेको हो।

यसअघि उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेयश्रीकान्त पौडेल को इजलासमा सुनुवाइका लागि तोकिएको थियो। मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा अलग–अलग रिट निवेदन दर्ता भएका छन्।

यसअघि सर्वोच्च अदालत का न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजीज मुसलमान को संयुक्त इजलासले यो विवादमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। अदालतले विशेषगरी “थप प्रमाण” को व्याख्याबारे स्पष्टता आवश्यक रहेको उल्लेख गरेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार नयाँ प्रमाण फेला परेमा मात्र अभियोग संशोधन गर्न सकिने प्रावधान छ। तर, यस प्रकरणमा प्रतिवादीले दिएको निवेदन वा स्वघोषणालाई नै “थप प्रमाण” मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।

त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी प्रश्न पनि उठाइएको छ। अभियोग संशोधनको अन्तिम अधिकार जिल्ला अदालतमै रहने हुँदा सो निर्णय अघि नै सर्वोच्चको हस्तक्षेप उचित हुन्छ कि हुँदैन भन्ने विषय पूर्ण इजलासबाट टुंगो लगाइनेछ।

सर्वोच्च अदालतले यसअघि बिहीबारलाई पहिलोपटक पूर्ण इजलासमा सुनुवाइको मिति तय गरेको भए पनि सरकारी पक्षको आग्रहपछि सुनुवाइ स्थगित भएको हो। अब यस मुद्दाको अर्को सुनुवाइ मिति अदालतले पछि निर्धारण गर्नेछ।