गोरखा। बारपाक, गोरखा जिल्लाको ऐतिहासिक तथा घना बस्तीका रूपमा परिचित गाउँ, पछिल्लो समय आफ्नो मौलिक पहिचान गुमाउँदै गएको देखिएको छ। एक समय ढुङ्गाले छाएका परम्परागत घरहरूले सजिएको यो बस्ती अहिले कंक्रिट संरचनाले भरिँदै गएको छ।

२०७० सालतिरसम्म बारपाक पुग्नेहरूलाई यहाँका एकनासका ढुङ्गे घर, परम्परागत शैली र ग्रामीण जीवनशैलीले आकर्षित गर्थ्यो। तर अहिले त्यही गाउँमा कंक्रिटका घर, साँघुरा सडक र निर्माण सामग्रीका थुप्राहरू सामान्य दृश्य बन्न थालेका छन्। गाउँका हरेक टोलमा बालुवा, सिमेन्ट, इट्टा र रड प्रयोग गरी घर निर्माण भइरहेका छन्।

२०७२ सालको गोरखा भूकम्प २०१५पछि बारपाक पुनर्निर्माणको केन्द्रमा पर्‍यो। भूकम्पले अधिकांश परम्परागत घरहरू ध्वस्त बनाएपछि पुनर्निर्माणमा आधुनिक कंक्रिट संरचनाले प्राथमिकता पाएको हो। अहिले गाउँमा मौलिक घरहरू केही मात्र बाँकी छन् भने अधिकांशले पक्की घर निर्माण गरेका छन्।

स्थानीय मोहनभगी गुरुङका अनुसार भूकम्पपछि सुरक्षित आवासको आवश्यकता र वैदेशिक रोजगारीबाट आएको आम्दानीका कारण कंक्रिट घरहरूको संख्या बढेको हो। “पुरानो घरभन्दा कंक्रिट घर सुरक्षित हुन्छ भन्ने बुझाइ छ, गाउँका धेरै मानिस विदेशमा छन् र आर्थिक रूपमा सक्षम भएपछि नयाँ घर बनाएका छन्,” उनले भने। उनका अनुसार आर्थिक रूपमा कमजोर परिवारले भने पुराना घर मर्मत गरेर बसिरहेका छन्।

सडक सञ्जाल विस्तारसँगै बारपाकमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढेको छ। पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न होटल र रेष्टुरेन्टहरू खुलेका छन्। तर यसले स्थानीय उत्पादनभन्दा बाहिरबाट आउने खाद्य सामग्रीलाई प्राथमिकता दिन थालेको देखिन्छ।

गाउँमा मकै, कोदो, जौ, गहुँ, सिलामलगायत कृषि उत्पादन हुने भए पनि यातायात सहज भएपछि गोरखा बजार र चितवनबाट तरकारी तथा खाद्य वस्तु भित्रिने क्रम बढेको छ। यसले स्थानीय उत्पादनको उपयोग घटाउँदै लगेको छ।

काठमाडौँबाट घुम्न पुगेका पर्यटक दिपेश दर्शनधारीका अनुसार बारपाक अझै शान्त र सुन्दर भए पनि यसको मौलिकता कमजोर हुँदै गएको छ। “लाहुरेहरूको वीरगाथा र भूकम्पको केन्द्रबिन्दु भएर चिनिएको बारपाकले आफ्नो पहिचान जोगाउन स्थानीय उत्पादन र संस्कृतिमा जोड दिनुपर्छ,” उनले भने।

हाल गाउँभित्र निर्माण भइरहेका साँघुरा सडक, निर्माण सामग्री बोकेका ट्याक्टर, रड सोझ्याउने र घरको जग खन्ने कामले बारपाकको परम्परागत स्वरूपलाई परिवर्तन गरिरहेको देखिन्छ। विकाससँगै आएको संरचनात्मक परिवर्तनले दीर्घकालीन रूपमा सांस्कृतिक पहिचानमा असर पार्ने चिन्ता व्यक्त हुन थालेको छ।

स्थानीय तथा सरोकारवाला पक्षले बारपाकको ऐतिहासिक महत्व, मौलिक घर संरचना र स्थानीय उत्पादनलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। अन्यथा, तीव्र शहरीकरणको प्रभावले बारपाकको मौलिक पहिचान पूर्ण रूपमा हराउने जोखिम रहेको देखिन्छ।