काठमाडौं । सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश के.सी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरिएको थियो । यो विषय सरकारद्वारा सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुँदामा समेत समावेश छ ।








