झापा । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–१२ घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङ बाहुनडाँगीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा कार्यरत थिए। मंगलबार साँझ करिब साढे ५ बजेतिर मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

घाइते तामाङलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा साँझ ६:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुब्बासमेत घाइते भएका छन्। उनको हातमा सामान्य चोट लागेको र अवस्था खतरा बाहिर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।