काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक विवरणमा उनले अचल सम्पत्ति, सुन, बैंक बचत तथा विभिन्न क्षेत्रमा गरिएको लगानी खुलाएका छन्।

सार्वजनिक विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेका छन्। ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ बराबरको अपार्टमेन्ट, ललितपुरमै ५ करोड मूल्यको घर, काभ्रेको अपार्टमेन्ट ३ करोड ७५ लाख तथा तनहुँमा २ करोड रुपैयाँ बराबरको घर रहेको उल्लेख छ।

ADVERTISEMENT

उनले यी सम्पत्तिको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको बताएका छन्। साथै, उनको बैंक खातामा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको छ।

त्यस्तै, उनले पारिवारिक तथा रोजगारीबाट आर्जित ४५ तोला सुन रहेको खुलाएका छन्।

ADVERTISEMENT

शेयर तथा लगानीतर्फ पनि उनको उल्लेख्य उपस्थिति देखिएको छ। उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता प्रमोटर शेयर, सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर शेयर रहेको जनाएका छन्।

यसबाहेक, नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख, ठूलो लखोलामा ६० लाख तथा अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।

उनको नाममा ९४ लाख रुपैयाँ बराबरको सवारी साधन पनि रहेको छ। साथै, उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ र व्यक्तिगत रूपमा २ करोड ५० लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेका छन्।