काठमाडौं। पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले संसदभित्र प्रयोग हुने सम्बोधनको भाषामाथि प्रश्न उठाउँदै लैङ्गिक समानताको पक्षमा आवाज उठाएकी छन्। उनले औपचारिक वातावरणमा महिला सांसदलाई ‘बहिनी’ वा ‘चेली’ जस्ता पारिवारिक शब्द प्रयोग गरेर सम्बोधन गर्नु उपयुक्त नभएको बताएकी हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सांसद हर्क साम्पाङलाई धन्यवाद दिएकी छन्। अघिल्लो अधिवेशनमा ‘चेली’ शब्द प्रयोग भएको स्मरण गर्दै यस पटक ‘बहिनी’ सम्बोधन गरिएको उल्लेख गरेकी उनले यस विषयमा पुरुष सांसदहरूबीच पहिले चासो नदेखिए पनि अहिले एक सांसदले आवाज उठाएकोमा सकारात्मक संकेतका रूपमा लिएकी छन्।

ADVERTISEMENT

उनले ‘चेली’ र ‘बहिनी’ शब्द आफैँमा अपमानजनक नभए पनि संसदजस्तो औपचारिक स्थानमा यस्तो सम्बोधन प्रयोग गर्नु असमान व्यवहारको संकेत हुने बताइन्। पुरुष सांसदलाई ‘माननीय सांसदज्यू’ भनिने तर महिलालाई फरक ढंगले सम्बोधन गरिनु समानताको मर्मविपरीत भएको उनको भनाइ छ।

ADVERTISEMENT

‘संसदमा उपस्थित सबै जना समान हैसियतका सांसद हुन्,’ श्रेष्ठले उल्लेख गर्दै भनिन्, ‘जब पुरुषलाई माननीय भनिन्छ र महिलालाई ‘बहिनी’ भनिन्छ, त्यसले बराबरीको दृष्टिकोण नरहेको सन्देश दिन्छ।’

उनले यस्तो सम्बोधनले महिलालाई पारिवारिक दायराभित्र सीमित गर्ने प्रयास हुने आरोपसमेत लगाएकी छन्। औपचारिक संस्थामा भाषा प्रयोगले नै सम्मान र समानताको मापन हुने भएकाले यसमा सुधार आवश्यक रहेको उनले जोड दिइन्।

ADVERTISEMENT

श्रेष्ठले उपसभामुखलाई पनि यस्तो सम्बोधन स्वीकार नगर्न आग्रह गरेकी छन्। उनले उपसभामुख पदको गरिमा उमेर वा व्यक्तिगत सम्बन्धभन्दा माथि हुने बताउँदै सबैलाई समान रूपमा ‘माननीय’ भनेर सम्बोधन गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

‘समान सम्मानको सुरुवात भाषाबाट हुन्छ,’ उनले भनिन्, ‘सम्बोधनमै समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता सम्भव हुँदैन।’