काठमाडौँ ।प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो । मत दिन्न भन्नेमा २२ मत पर्‍यो ।रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा मतदान गरे । एमाले तटस्थ रह्यो । राप्रपाले विपक्षमा मतदान गर्‍यो ।

नेपालको प्रतिनिधिसभाले इतिहासमै सबै भन्दा कम उमेरकी उपसभामुख पाएको छ । धनुषाकी २५ वर्षीया रुविकुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी छन् ।श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त भएपछि उनको निर्वाचन सुनिश्चित भएको हो । प्रतिनिधिसभामा प्रस्तुत प्रस्ताव पारित भएसँगै उनी औपचारिक रूपमा उपसभामुख बनेकी हुन् ।

सामान्य परिवारबाट राजनीति यात्रामा प्रवेश गरेकी ठाकुरका लागि सांसद बन्नु नै अप्रत्याशित अनुभव थियो । धनुषामा सानो रोजगारी गर्दै समाजसेवामा सक्रिय उनी जेनजी आन्दोलनपछि राजनीतिमा प्रवेश गरेकी हुन् । सोही आन्दोलनको प्रभावले उनलाई राष्ट्रिय राजनीतिसम्म पुर्‍याएको मानिन्छ ।

ADVERTISEMENT

उनले आफ्नो राजनीतिक यात्राको सुरुवात श्रम संस्कृति पार्टीमार्फत गरेकी हुन् । पार्टीको अभियानमा सक्रिय भएपछि उनी जनतासँग प्रत्यक्ष जोडिँदै प्रचारप्रसारमा खटिएकी थिइन् । पछि पार्टीले उनलाई समानुपातिक सांसद चयन गरेको थियो ।

ADVERTISEMENT

उपसभामुखमा निर्वाचित भएपछि ठाकुरले आफू जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी छन् । उनले देश र जनताको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

ADVERTISEMENT

सामाजिक रूपमा मधेश क्षेत्रमा विद्यमान दहेज प्रथा, बालविवाह तथा बेरोजगारीजस्ता समस्यालाई प्राथमिकताका साथ उठाउने उनको भनाइ छ । उनले यस्ता मुद्दामा संसद्भित्र सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।

शैक्षिक रूपमा डिप्लोमा तहको इन्जिनियरिङ अध्ययन पूरा गरेकी ठाकुरले आगामी दिनमा अध्ययनलाई निरन्तरता दिने योजना पनि बनाएकी छन् । राजनीतिक जिम्मेवारीसँगै उच्च शिक्षा अघि बढाउने उनको लक्ष्य रहेको छ ।

सामान्य जीवनबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रा नयाँ पुस्ताका लागि प्रेरणादायी मानिएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनी उपसभामुख पदमा पुगेपछि परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ ।